लुम्बिनी प्रदेश भित्रका प्रदेश स्तरीय ऊर्जा, जलस्रोत तथा सिंचाइ सम्बन्धी कार्य क्षेत्र रहने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गठन भएको हो।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बर्दिया, जलस्रोत तथा सिँचाइ पूर्वाधारहरूको विकास र व्यवस्थापन गर्ने लुम्बिनी प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको कार्यालय हो। यस कार्यालय वि.सं. २०७२ मा 'सिँचाइ विकास सब-डिभिजन'को रूपमा स्थापना भएको थियो र वि.सं. २०७४ मा यसले हालको नाम प्राप्त गरेको हो। यस कार्यालयको मुख्य कार्य बर्दिया जिल्लाभरि सतह, लिफ्ट र आधुनिक सिँचाइ प्रणालीहरूको योजना तर्जुमा तथा विकास गर्नुका साथै विद्यमान प्रणालीहरूको विस्तार गर्नु हो। तराई-मधेस क्षेत्रमा, यस कार्यालयले ५०० देखि ५,००० हेक्टरसम्मका सतही सिँचाइ आयोजनाहरू र २५ देखि १०० हेक्टरसम्मका लिफ्ट सिँचाइ प्रणालीहरूको निर्माण तथा मर्मत सम्भार गर्ने गर्दछ। यसका साथै, कार्यालयले १० किलोमिटरसम्मका नदी तटबन्धहरू निर्माण गरी बाढी नियन्त्रण जस्ता जल उत्पन्न प्रकोप व्यवस्थापनमा पनि कार्य गर्दछ।
सिंचाइ तथा नदि नियन्त्रण संरचनाहरूको दिगोपन सुनिश्चित गर्न, कार्यालयले आयोजनाहरूको नियमित मर्मत सम्भार गर्ने कार्य गर्दछ। साथै विद्यमान मझौला सिँचाइ प्रणालीहरूलाई थप सुचारु र प्रभावकारी रूपमा सञ्चालन गर्न, कार्यालयले उपभोक्ताहरूलाई तालिम प्रदान गर्नुका साथै यी प्रणालीहरूको व्यवस्थापन क्रमशः 'जल उपभोक्ता संस्थाहरू' (Water Users' Associations - WUAs) लाई हस्तान्तरण गरि प्राबिधिक सहयोग पुर्याउने छ |